हुकुम बस्नेत बन्दै एमाले दाङको सर्वसम्मत अध्यक्ष

हुकुम बस्नेत बन्दै   एमाले दाङको सर्वसम्मत अध्यक्ष

दाङ, पुस ११ । नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै दाङमा नेतृत्वको बहस सुरु भएको छ । सक्षम र अनुभवि नेता हुकुम बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउन जिल्लाका पार्टी नेताहरु लगिपरेका छन् ।

कम्युनिष्ट आन्दोलनमा तीन दशकदेखि अनवतर लागिपरेका हुकुम नेतृत्वमा आउँदा जिल्लाको पार्टी सशक्त र बलियो बन्ने भन्दै नेताहरुले १३ जिल्ला अधिवेशनमा हुकुमको बिकल्पमा छलफल नै नहुने बताएका छन् । जिल्लाको भावि नेतृत्वका लागि सम्भाव्य पात्रका रुपमा हेरिएका अनुभवि र पुराना नेता शिवकुमार आचार्य स्वयंले हुकुमलाई जिल्ला अध्यक्षमा प्रस्ताव गरेर हुकुमको बिकल्पमा कोही नभएको प्रमाणित गरिदिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता आचार्यले जिल्ला नेतृत्वमा हुकुमलाई प्रस्ताव गरेको र आउने प्रतिक्रियाको जवाफ दिन तयार रहेको बताउनुभएको छ । ‘ हुकुम बस्नेतलाई एमाले दाङ जिल्लाको अध्यक्षको निम्ति प्रताव पेस गर्दछु । प्रतिक्रिया पछि प्रति उत्तर दिनेछ’, नेता आचार्यले फेसबुक स्टाटसमा लेख्नुभएको छ ।

नेता आचार्यको प्रस्तावपछि जिल्लाका सबैजसोले हुकुम अध्यक्ष बन्दा पार्टी सशक्त र बलियो हुने प्रतिक्रिया दिएका छन् । नेता आचार्यको प्रस्तावलाई स्वागत गर्दै एमाले दाङलाई चलायमान बनाउन हुकुमको बिकल्प खोज्न नहुने प्रतिक्रिया दिनुभएको छ । ‘सही निर्णय । अहिले दाङले हुकुम बस्नेतकै नेतृत्व खोजेको छ । प्रस्तावका लागि हजुरलाई धेरै धेरै धन्यवाद छ’, शर्माले प्रतिक्रिया दिनुभएको छ ।

नेता आचार्यको प्रस्तावमा शिव थापाले जिल्ला पार्टीको विकासका लागि हुकुमले खेलेको भूमिकाको कदर गर्दै हुकुमलाई नेतृत्वमा ल्याउनुपर्ने प्रतिक्रिया दिनुभएको छ । ‘शिव कमरेड हुकुम बस्नेतले दाङमा एमाले बचाउन जुन भुमिका पछिल्लो समयमा निर्वाह गर्नुभयो त्यसको आधारमा अबको अध्यक्ष वहाँ नै हो’, नेता आचार्यको प्रस्तावमा थापाले प्रतिक्रिया दिनुभएको छ । हुकुमका सहपाठी सेवकराम भण्डारीले हुकुम अध्यक्ष हुँदा पार्टी चलायमान हुने प्रतिक्रिया दिनुभएको छ । हुकुम आफ्ना जेल पार्टनर भएको बताउँदै भण्डारीले लेख्नुभएको छ, ‘तपाई दियो हो कमरेड जसले आफू जलेर पनि सारा दुनियाँलाई उज्यालो दिन्छ, चौडा छाती भएका मेरा जेल पार्टनर आदरणीय कमरेड, हजुरलाई सलाम छ ।’

शिव, सेवकराम र बिनोद जस्तै अरुण शर्माले पनि हुकुमलाई अध्यक्ष बनाउने नेता आचार्यको प्रस्ताव स्वागतयोग्य भएको बताउनुभएको छ । हुकुमलाई अध्यक्षमा प्रस्ताव गर्ने नेता आचार्यको प्रस्तावप्रति हर्ष व्यक्त गर्दै शर्माले प्रतिक्रिया दिनुभएको छ, ‘जिल्लाको सबैतिरबाट हावा चलिरहेको थियो पात हल्लिरहेका थिए । तर, त्यो सिङ्गो सतिसालले आफू जहाँ छु, त्यहि अडिरहने र हावाको बेग थाम्ने प्रतिज्ञा लियो । सलाम छ त्यस सतिसाललाई ।’ शिव, सेवकराम र बिनोद र अरुण उदाहरण मात्रै हुनुहुन्छ–पार्टीको १३ औं अधिवेशनबाट इमान्दार र त्यागी नेता हुकुमलाई जिल्ला अध्यक्ष बनाउन सबैले माग गरिरहेका छन् ।