जनवायु परिवर्तनको मुद्दा-सम्पादकीय

जनवायु परिवर्तनको मुद्दा-सम्पादकीय

पछिल्लो दशक विश्वको जलवायुमा निकै ठूलो परिवर्तन आएको छ । जलवायु परिवर्तन वैश्विक मुद्दा बनेको छ । मूलतः ब्रह्माण्डीय उष्णताका कारण विश्वका विभिन्न क्षेत्रको औसत तापमानमा वृद्धि भई प्रचलित मौसम र मौसमी पात्रो (क्यालेन्डर)मा अवाञ्छित परिवर्तनका सङ्केत देखिएका छन् । यो नै जलवायु परिवर्तन हो जसको सीधा असर मानव जीवनमा पर्न थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उष्णताले विश्वभर हैजा, डेङ्गु, मलेरिया र कमलपित्तको सङ्क्रमण बढ्ने छ । ताप वृद्धिले यी र अन्य सरुवा रोग सार्ने लामखुट्टेलाई हिमाली क्षेत्रसम्म पुग्न सहज हुनेछ । अर्कोतिर बढ्दो तापले हाम्रा हिमाल तीव्र गतिमा पग्लेर हिमाली क्षेत्र कालापत्थरमा परिणत हुन सक्छन् । विद्यमान तापमा लगाइने र पाक्ने खेतीको जीवनचक्र सङ्कटमा पर्न सक्छ । ताप बढ्नाले पानीका स्रोत सुक्ने नै भए । पृथ्वीमुनिको पानीको सतह घटेर पृथ्वीका विभिन्न भाग धसिन सक्छन् । जलवायु परिवर्तनका खतरालाई बुँदामा उल्लेख गर्न सम्भव छैन । संक्षेपमा भन्नुपर्दा यसले मानव र उसको आम सभ्यतामा प्रतिकूलता ल्याउने छ भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गर्दैआएका छन् । जलवायु परिवर्तन यस्तो दुष्परिणाम हो जसबाट दोषी र निर्दोष दुवै बराबरी दण्डित हुनुपर्छ । विकसित मुलुकले गरेको दोषको दण्ड हामी जस्ता विकासोन्मुख देशका जनताले भोग्नुपर्ने अवस्था सृजना गरेको छ ।
ठूला र विकसित देशले गरेका कोइलाखानी, पेट्रोल खानी, सिमेन्ट कारखाना, वन तथा पानीको दोहनलगायत विभिन्न भौतिक विकासले ल्याएका जलवायुका दुष्परिणाम गरिब मुलुकवासीमा देखिन थालेका छन् । कार्बनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रोजन अक्साइडजस्ता ग्यासले बढाउने हरितगृह प्रभावले हुने जलवायु परिवर्तन गरिब देश जसले यी ग्यास उत्पादन गर्दैनन् तिनका नागरिकले पनि उत्ति नै भोग्नुपर्ने बाध्यतालाई न्यायसंगत मान्न नसकिने भन्दै जलवायु परिवर्तन व्यवस्थापनका लागि सम्पन्न मुलुकले लगानी गर्नुपर्ने विश्व जनमत तयार भएको छ । विकसित देशका कारण वातावरणमा यी ग्यासको निरन्तर मात्रा बढ्नाले हरित ग्यासको उत्पादन बढ्ने गरेकाले वैश्विक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दैगएको छ । हरित ग्यास उत्पादनमा कटौती गर्नसके जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सकिनेछ । हुन पनि जलवायु परिवर्तनका कारक नमानिने गरिब र कमजोर देश नै जलवायु परिवर्तनको उच्च जोखिममा पर्नुलाई विश्वले ध्यानपूर्वक हेर्नुपर्ने आवश्यकता बढ्दैगएको छ ।
जलवायु परिवर्तनजन्य प्रकोपले हरेक वर्ष नेपाललगायत विश्वमा विनाश बढाउँदै गरेको भन्दै मन्त्री ज्ञवालीले यसै वर्षमात्र नेपालले बाढी र टोर्नाडो समस्या भोगेकामा विश्वको ध्यानाकर्षण गर्नुभएको छ । नेपाललगायत विश्वका अल्पविकसित तथा विकासोन्मुख राष्ट्रले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गर्दै यसका दुष्परिणाम कम गर्न सम्बन्धित राष्ट्रलाई जिम्मेवार बनाउनुपर्ने देखिएको छ । यसका लागि नेपालजस्ता राष्ट्रले साझा फोरम बनाउन सक्नेछन् । नेपालले विगत नै जलवायु परिवर्तनको मुद्दालाई उठाउदै आएको छ । नेपालले जलवायु परिवर्तन बारे विभिन्न कार्यक्रम गर्दैआएको छ । दर्जनौँ गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय दातृ निकायले यस क्षेत्रमा जनचेतनालगायत भौतिक पूर्वाधार विकासका कार्य गर्दैआएका छन् । यस्ता समस्यामा कुनै पनि देश उदासिन बन्न नसक्ने भएकाले आ–आफ्ना औकातअनुसार सबै देशले जलवायु परिवर्तनका सम्भावित दुष्परिणाम रोक्न साझा पहल गर्न ढिला भइसकेको छ । नेपालले यस्तो पहलको सुरुवात गरिसकेको छ ।