पुग्यो विद्युत पाल्पाको चारघरे र ज्यामिरे गाउँमा

पुग्यो विद्युत पाल्पाको चारघरे र ज्यामिरे गाउँमा

पाल्पा, पुस १५। पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।

करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो। साविक ज्यामिरे गाउँ विकास समिति–१को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।

स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको बताउनुभयो । लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

टुकीको भरमा जीवन बिताएका त्यहाँका वासिन्दा विद्युत् सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताउनुभयो।