मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

सर्लाही, पुस १८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, सागरनाथ जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ ।
बयलबास–भक्तिपुर सडक खण्डस्थित सागरनाथ जङ्गलमा सागरनाथबाट बयलबासतर्फ आउँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । उक्त मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको सपेताको रुखमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ईश्वरपुर नगरपालिका वडा नं. ६ दसबिगाहका २२ वर्षीय अरुण सिंह, सोही ठाउँका २० वर्षीय सरगम बि.क. र २२ वर्षीय रोहन सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । आइतबार बिहान मर्निङवाकमा निस्किएका स्थानीयले मोटरसाइकल दुर्घटना भएको देखेपछि प्रहरीमा जानकारी गराएका थिए ।
तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर हेर्दा मोटरसाइकलमा सवार तीनै जनालाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।
स्थानीयवासीका अनुसार अङ्ग्रेजी नयाँवर्षमा पिकनिक खाएर घर फर्किँदै गरेका युवकहरु दुर्घटनामा परेका हुन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभएको छ ।