घोराहीका चार युवा कृषि कर्ममा

घोराहीका चार युवा कृषि कर्ममा

 

चन्द्रप्रकाश नेपाली

दाङ, १९ पौष । घोराही उपमहानगरपालिका वडा नंम्वर १७ का दुर्गेश सुवेदी, श्याम भण्डारी, युवराज घिमिरे र सैलेश अधिकारीले संयुक्त रुपमा व्यवसायिक कृषि कर्म गर्दै आएका छन् । २५ देखी ३० वर्ष उमेर समुहका ४ युवाहरुले अहिले घोराही उपमहानगरपालिका वडा नंम्वर ८ दुन्द्रामा ७ विगा ११ कठ्ठा जग्गा लिजमा लिएर कागति खेती र लोकल कुखुरा पालन व्यवसाय गर्दै आएका छन् ।

सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा हरेक वर्ष अर्बौ रुपैयाँको कागती मात्रै आयात हुने गरेको छ । यही विदेशी आयतलाई रोक्ने र देशमै स्वरोजगार बन्ने उद्देश्का साथ ४ युवाहरुले लाखौ रुपैयाँ लगानी गरेर कृषि कर्ममा भविष्य भेट्ने योजनाका साथ राप्ति मल्टी एग्रो प्राली सञ्चालनमा ल्याएका छन् ।

 

४ जना मध्ये कोही स्वास्थ्य क्षेत्रको अध्ययन गरेका, कोही रोजगारीको शिलशिलामा विदेशसम्म पुगेर फर्किएका र कोही भने व्याचुलर पढ्दै गरेका रहेका छन् । अहिलेभन्दा पनि भविष्यको सफलतालाई लक्ष्य बनाएर कृषि कर्म सुरु गरेको उंहाहरुको भनाई छ ।

सञ्चालक दुर्गेश सुवेदी भन्नुहुन्छ,–‘ देशमै केही गरौ विदेश नजाऔ भन्ने हामी चार जनाको उद्देश्य बन्यो । कृषि क्षेत्रमा केही लगानी गरेर देशमै सफलता भट्न सकिन्छ भन्ने योजना हामीले बनायौ । वार्षिक रुपमा ठुलो मात्रामा कृषि सामाग्री आयात भैरहदा त्यसलाई रोक्दै स्वदेशमै आत्मनिर्भरता श्रृजना गर्ने लक्ष्यका साथ हामीले कृषि कर्म गरिरहेका छौ ।

हामीले व्यवसायिक रुपमा कृषि कर्म थालेको वर्षदिन पुग्नै लागेपनि अहिले सम्म आम्दानी भने लिने श्रोत बनेको छैन् । भविष्यमा आर्थिक सम्बृद्धि र आत्मनिर्भर बन्ने उद्देश्यका साथ हामी कृषिमै रम्दै छौँ,–‘उहाँले भन्नुभयो ।

लिजमा लिएको ७ विगा ११ कठ्ठा जमिनको वार्षिक ४ लाख ५४ हजार रुपैयाँ भाडा शुल्क रहेको छ । कुल जमिनमध्ये कुखुराको लागी मात्रै ७ कठ्ठा र बाकीमा कागतिका विरुवाहरु लगाईएको छ । श्याम भण्डारी भन्नुहुन्छ,–‘ हामीले सुरुमा ५÷५ लाख रुपैयाँ गरेर २० लाखको लगानीमा काम सुरु गरेका थियौ । गतवर्षको जेठ महिनाबाट हामीले काम सुरु ग¥यौ । अहिलेसम्म ५० लाख रुपैयाँ लगानी पुगिसकेको छ । अझै कागतिका लागी सिचाईको काम गर्न र तार जाली लगाउने काम बाकी रहेको छ,–‘उहाँले भन्नुभयो ।

७ महिना पहिले ३६ सय कागतिका विरुवा ५ लाख रुपैयाँमा खरिद गरी त्यसलाई रोप्न ढाई लाख रुपैयाँ खर्च भएको युवराज घिमिरेले बताउनु भयो । यस्तै सुरुमा २ सय वटा लोकल चल्लाबाट सुरु गरेकोमा अहिले १५ सयसम्म पुराईएको छ । घिमिरेले भन्नुभयो,–‘हामीले लोकल चल्ल घरघरसम्म पुरायौ भने ७ सय रुपैयाँ प्रति केजी विक्रि गरिरहेका छौ भने ठुलो मात्रामा उठाउनेहरुलाई छुट पनि दिएका छौ ।

कुखुरा एक पटक बिक्री गरिसकेपनि कागतिले भने तिन वर्षपछि मात्रै उत्पादन दिन थाल्छ । तिन वर्ष पछि ४० प्रतिशत र ५ वर्षपछि पुर्ण रुपमा उत्पादन दिन्छ,–‘उहाँले भन्नुभयो ।

अहिले फर्मको व्यवस्थापनका लागी चार जनाले पनि सक्दो समय दिईरहेको र एकजना कर्मचारीलाई फुल टाईम खाईएको छ । बेला बेलामा अन्य ४, ५ जना पनि परिचालन गर्र्ने गरिन्छ ।

सैलेश अधिकारी भन्नुहुन्छ,–‘कृषिको नाममा हामीले अनुदान र ऋण भने अझै सम्म लिएका छैनौ । तर धेरै मात्रामा वास्तिविक किसानसम्म अनुदान पुग्न नसकेको घटना धेरै देख्ने गरेका छौ । सरकारले वास्तविक किसानको पहिचान गरेर अनुदान दिने कुरालाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ,–‘उहाँले भन्नु भयो ।

फर्ममा लोकल बाख्रा थप्ने योजनाका साथ खोर निर्माण गरिसकेका छौ भने घास व्यवस्थापनका लागी घास रोपनको काम भैसकेको छ । नेपाल देश कृषिमा आत्मनिर्भर छ भन्ने खालका भाषण र नाराको चर्चा चलिरहदा देशमा स्थानिय उत्पादनलाई माथि उठाउने लक्ष्यका साथ आत्मनिर्भरताको बाटो तयार पार्दै गरेको उनिहरुको भनाई छ ।