नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै

नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै

दाङ, पुस २६ ।  नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ। विश्वमा जस्तै नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । गत जेठमा देखिएको दोस्रो लहरमा अक्सिजनको सङ्कट र आईसीयू बेडको अभावले अनपेक्षित जनधनको क्षति भएको थियो ।

अस्पताललगायतका क्षेत्रमा पूर्वतयारी गरिएकाले यो पटक ओमिक्रोन फैलियो भने पनि यस्तो समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा।समीर अधिकारी बताउनुहुन्छ ।

अमेरिका, बेलायतलगायत छिमेकी देश भारतमा पनि ओमिक्रोन भेरिएन्ट तीव्रगतिमा फैलिरहेको छ । नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ। नेपालमा पनि ओमिक्रोन पुष्टि भइसकेकाले केही सातामै सङ्क्रमण बढ्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यो भेरियन्टले तेस्रो लहर फैलनसक्ने अनुमान गर्दै सरकारले अत्यधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रालयले पहिलाको तुलनामा आइसोलेसन, एचडीयु, भेन्टिलेटर, अक्सिजन सिलिन्डर र कन्सन्टेटर प्लान्ट पहिलाको तुलनामा दोब्बर बनाएको मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा ३२४ एचडीयु, २,७९७ आइसियु बेड र १,००८ भेन्टिलेटर

मन्त्रालयको तथ्याङ्क अनुसार देशभरमा आठ हजार २०२ आइसोलेसन, ३२४ एचडीयु, दुई हजार ७९७ आइसियु बेड र एक हजार आठ भेन्टिलेटर बेड छन् ।

देशभर १३ हजार ९३९ सिलिण्डर छन् । त्यस्तै,अक्सिजन कन्सन्टेटर ६९३, अक्सिजन प्लान्ट ४७ वटा छन् । त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४९४ आइसोलेसन, एचडीयु बेड ३२४, आइसियु बेड ४४५ र भेन्टिलेटर २५४ वटा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।