विकासको पर्खाइमा सीमावर्ती क्षेत्रका ‘नेपाली’

विकासको पर्खाइमा सीमावर्ती क्षेत्रका ‘नेपाली’

शिवु खनाल
देउखुरी, २५ पुस
दाङको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नाकाबासीहरुलाई भारतीय बाटो प्रयोग गरि नेपालका बजार जानुपर्ने बाध्यता छ । सडक भएपनि हिउँबर्खै गाडि चल्न मुस्किल हुने भएकाले भारतीय बाटो भएर फेरी नेपाल पस्नुपर्छ । नेपाल भएर हिड्ने सडकहरु थुप्रै भएपनि एउटापनि सडक राम्रै छैन् । तरकारी खेती र गाई, बाख्रा पालन गर्दै आएका नाकाबासीहरुको घरसम्म कृषि प्राविधिक र पशु प्राविधिक अहिलेसम्म पुगेका छैनन् । सीमा क्षेत्रमा बस्ने नेपालीहरुले सडक मात्रै हैन शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, संचार, व्यापार, रोजगारका लागि पनि भारतकै प्रयोग पर्नुपर्छ । नेपाली बजार भएपनि सीमा क्षेत्रका बासिन्दा भारतकै बजारमा निर्भर छन् । सीमा क्षेत्रका नेपाली नागरिक भारतको बलरामपुरको तुलसिपुर बजार र श्रस्ती सिरसिया बजार जिल्लाका विभिन्न बजारमा जाने गरेका छन् ।
‘सीमा क्षेत्रमा बस्ने हामी सबैको किनमेलदेखि औषधि उपचार गर्ने बजार भारतकै हुन्, राजपुर गाउँपालिका वडा नम्बर ७ सुपत्थरीनाका निवासी गोरेबहादुर घर्ती (गारेन्द्र) ले भन्नुभयो,—। यहाँको विकासमा पालिकामा बसेर योजना बनाउनेले वास्था गरेका छैनन् ।’ आफ्नै नेपाली भुमिमा जाने गतिलो सडक नहुदाँ नाकाबासीहरु भारतीय अस्पतालमा उपचारका लागि जाने गरेका छन् । बिषेशज्ञ डाक्टरको उपचार लिन घण्टौ लगाएर लमही, घोराही जानुपर्ने भएकाले नाकाबासीको रोजाइ भारतीय अस्पताल हुने गरेको छ । भारतमा स्वास्थ्य सुविधा लिदा महंगो हुने भएपनि बाध्यता भएको स्थानीय पूर्णबहादुर रोको भनाइ छ । संचारका साधन पनि भारतीय नै प्रयोग हुन्छन्, सीमा क्षेत्रमा । धेरैजसो यहाँका नेपालीले भारतीय कम्पनीका मोबाइल प्रयोग गर्दै आएका छन् ।
तरकारी खेतीको प्रशस्त संभावना भएपनि त्यस अनुरुपका योजना यहाँसम्म आइनपुग्दा किसान रोजगारका लागि भारतीय बजार नै भौतारीनु परेको छ । यहाँका युवाहरु भारतका बजारमा गएर ड्राइभर, काठको काम गर्दै आएको स्थानीय टंक विकले बताउनुभयो । खुला सीमाना भएकाले यो क्षेत्रमा बस्ने नेपालीका लागि सुरक्षाको बढी चिन्ता हुने गरेको छ । सीमा विवाद पटक–पटक भएकाले यहाँको सीमा क्षेत्रको शान्त हुनुपर्ने स्थानीयको भनाइ छ । ‘सीमा क्षेत्र क्लियर नहुदा सीमा विवाद हुदै आएको छ । ‘सीमानामा निरिक्षणका लागि सरकारी अधिकारी बाक्लै आएपनि अहिलेसम्म समाधान नहुदा समस्या उस्तै छ, राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी चक्रबहादुर खड्का (शिखर)ले बताउनुभयो ।
समस्या सडकको
सीमा क्षेत्रका बासिन्दाका लागि सबैभन्दा समस्या सडक हो । नेपाली भु–भाग भएर हिउँद वर्षातमा नै गाडि कुद्ने सडक नहुदा भारतीय सडक प्रयोग गर्नु बाध्यता रहेको छ । ‘सडकको सुविधा नहुदा स्थानीयबासीले नेपाल सरकारले दिएका सुविधा उपभोग गर्न पाएका छैनन् । त्यती मात्रै नभएर सडक नहुदा सरकारी निकायको नजर पनि नपरेको अवस्था छ ।’ दिर्घकालिन योजना बिना पुरानो संरचना अनुसारका स्थानीय निकायले विकासे कार्यालय खनिएका सडक कुनैको पनि डिटेल सर्भे छैन । दिर्घकालिन सोच र योजना नभएकाले यहाँका सडकमा कि बजेट पर्दैन परेपनि कमि मात्रै पर्छ, काम पनि भनेको जस्तो हुदैँन । जनप्रतिनिधि र कर्मचारीका भरमा चलेका स्थानीय निकायले भारतसँगको सीमाका बासिन्दाका लागि भनेर कुनै योजना दिन सकेका छैनन् ।
सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुविधाका लागि भनेर अहिलेसम्म कुनै योजना बनाएको छैन । राजमार्ग देखि जिल्ला सडक समेतको काम गर्दै आएको सडक डिभिजन कार्यालय दाङको प्रगति पनि त्यति राम्रो छैन । सडक विभागले डिपिआर तयार पार्दै आएपनि बर्षेनी यी सडकको बजेट घट्दै गएको अवस्था छ । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्षदेखि नियमिति रुपमा काम हुदै आएको यो सडकको अझै पाँच किलोमिटर सडक कालोपत्रे गर्न सकेको छैन । अझ केही स्थानहरुमा त ट्रयाक खोल्न बाँकि रहेको छ । भारतसंग जोडिएको दाङको ८३ किलोमिटर सीमा सडकले सबै वडाहरु जोड्ने भएपनि बजेट कम निकासा हुदा थोरै मात्र काम हुने गरेको छ ।
सीमावर्ती क्षेत्रमा स्वास्थ्यको समस्या अन्त्य गर्छु ः मन्त्री थारु
लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले भारतसंग जोडिएका दाङका सीमावर्ती क्षेत्रमा रहेको स्वास्थ्य क्षेत्रको समस्या छिटै समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री थारुले राजपुर र गढवा गाउँपालिका अन्र्तगत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले खेप्नु परेको स्वास्थ्य क्षेत्रको सास्तीलाई आफ्नै कार्यकालमा अन्त्य गर्ने बताउनुभयो । उहाँले सीमावर्ती क्षेत्रमा आधारभुत स्वास्थ्य सेवा अन्र्तगत बर्थिङ सेन्टर स्थापना गर्ने बताउनुभयो ।