प्रदेश १ काे मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ काे मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

विराटनगर, कात्तिक १६ गते । भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ५१ वर्ष अघि जन्मिनुभएका राजेन्द्र राई प्रदेश १ कोे मुख्यमन्त्री बन्नुभएको छ । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कान्छो सन्तानको रुपमा वि.सं. २०२७ साल असार १५ गते तत्कालिन किमलुङ गाविसमा जन्मिनुभएका राई विद्यालय तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो । विद्यालयमा अनेरास्ववियुमा सङ्गठित भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका राई ३७ वर्षदेखि अनवरत राजनीतिमा संलग्न रहँदै आउनुभएको छ ।
वि.सं. २०४३ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडांैको रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रवेश गर्नुभयो । क्याम्पसमा पनि उहाँले विद्यार्थी राजनीतिलाई निरन्तरता दिनुभयो । त्यस क्रममा उहाँ २०४९ मा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) सभापति बन्नुभयो ।
२०४१ सालमा अनेरास्ववियुको स्कुल एकाइ कमिटीको सचिव भएर विद्यार्थी राजनीति सुरु गर्नुभएका राई सोही सङ्गठनको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै २०५७ सालमा पहिलो पटक र २०५९ सालमा दोस्राे पटक केन्द्रीय अध्यक्ष बन्नुभयो । उहाँ अध्यक्ष भएकै बेला देशभर अखिलले सबैभन्दा धेरै स्ववियुमा जित हासिल गरेको थियो । नेकपा एमालेले संवैधानिक राजतन्त्र भनिरहेकै बेला उहाँ नेतृत्वको अखिलको केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनले गणतन्त्रमा जानुपर्ने माग अगाडि सारेको थियो ।
पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गर्दै आन्दोलनमा होमिनुभएका राई नेकपा एमालेको नवौं महाधिवेशन पछि भने किनारामा पर्नुुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आएसँगै राई छाँयामा पर्नुभयो । नेकपा एमाले भित्रको गुटको राजनीतिले केही समय उहाँको गतिलाई रोक्न खोजे पनि उहाँले राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाउनुभयो र प्रदेश १ को तेस्राे मुख्यमन्त्रीको रुपमा अहिले उहाँले जिम्मेवारी पाउनुभएको छ ।
लामो समय अखिल राजनीतिमा सक्रिय रहनुभएका राई २०६८ सालमा केन्द्रीय सदस्य मनोनीत भएपछि पार्टी राजनीतिलाई नयाँ ढङ्गले अगाडि बढाउनुभयो । उहाँ २०७१ सालमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको थियो । २०७४ सालको आम निर्वाचनमा नेता राई भोजपुरबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो ।
पञ्चायतकालमा सात महिना जेल जीवन बिताउनुभएका राई शाही शासनका विरुद्ध आन्दोलन गर्दा चार महिना प्रहरी हिरासतमा रहनुभयो ।
नेता राई राज्यबाट मात्र नभएर देशमा चलेको सशस्त्र आन्दोलनमा विद्रोही पक्षबाट पनि केही समय नियन्त्रित हुनुभएको थियो । २०६० सालमा जनयुद्धरत नेकपा माओवादीका कार्यकर्ताले उहाँलाई भोजपुरमा एक हप्ता नियन्त्रणमा राखेको थियो । अहिले उहाँ सोही दलसमेतको सहयोग र समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ ।