दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा

दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा

दाङ, कार्तिक १८ । दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन्।

सुरुमा ७ सय १६ जना गणकहरू आवश्यक पर्ने भनिए पनि बसोबास गर्ने नागरिकको संख्या बढी भएको हुँदा थप ९० जना गणक खटिन लागेको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए।

उनका अनुसार तुलसीपुरमा १२८, घोराहीमा २४५, बंगलाचुलीमा २५, दंगिशरणमा २६, बबईमा ३४, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिने भएका छन्। राप्तीमा ७६ जना, गढवामा ९१ जना, राजपुरमा ३८ जना गणक खटिने भएका छन्।

जनगणनाका लागि सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिएको छ। गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिसकेका छन्।

अहिलेसम्म उनीहरूको २५ प्रतिशत काम सकिएको छ। अब गणकको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्तिम फाइल बुझाउने काममात्र बाँकी रहेको पोखरेलले बताए। दाङसहित देशभर यही कार्तिक २५ गतेबाट जनगणना सुरु भएर मंसिर ९ गते सकिने छ।