निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतगणना स्थलमा तारजाली र सीसी टिभी

निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतगणना स्थलमा तारजाली र सीसी टिभी

शिवु खनाल
देउखुरी, २९ बैशाख
दाङमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाइसँगै सम्पूर्ण तयारी पूरा भएको हो ।

निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् ।

मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहायताले मतदान केन्द्रहरु तयार गरिएको छ । यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाइन लाग्ने गरि ब्यवस्था मिलाइएको छ भने अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ ।

दाङमा एकसय ५३ वटा मतदान केन्द्र रहेका छन् । जिल्ला सुरक्षा समितिले मतदान सकेर राति आठ बजेभित्रमा मतपत्र मतगणना केन्द्रमा ल्याइसक्ने गरी काम गरिरहेको जनाएको छ ।जिल्लामा कुल चाल लाख नाै हजार ९९ जनाले मतदान गर्न पाउने छन् ।

मतगणनामा तारजाली र सीसी टिभी
निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि मतगणना स्थलमा तारजाली र सीसी टिभीको प्रयोग गरिरहेको छ । लमहीकाे लमही नगरपालिका भित्र मतगणनाका लागि व्यवस्थापन भइरहेको छ ।

आयोगले सबै मतगणनामा मतपत्रको सुरक्षाका लागि मतगणना स्थलमा तारजाली र सीसी टिभी अनिवार्यको व्यवस्था गरेको हो ।।