आज भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै, यी पाँच समझदारी पत्रमा हस्ताक्षर हुँदै

आज भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै, यी पाँच समझदारी पत्रमा हस्ताक्षर हुँदै

दाङ, जेठ २ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । २५६६औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आज मोदी लुम्बिनी आउन लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टा लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेश्नल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यासकोसमेत तयारी पूरा भएको छ।

हेरिटेजको नेपाल र भारतका दुवैजना प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने छ। साथै प्रधानमन्त्री देउवाले लुम्बिनीमै नवनिर्मित अत्याधुनिक अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हलको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।

भ्रमणकै अवसरमा शैक्षिक, संस्कृति एवं प्राविधिक विषयमा सहकार्य सम्बन्धी पाँच वटा बेग्लाबेग्लै समझदारी पत्रमा दुई देशका प्रधानमन्त्रीबीच हस्ताक्षर हुनेछ।

लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सीएनएस) त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसीसीआर)बीच सम्झौता हुनेछ।

साथै काठमाडौं विश्वविद्यालयसँग नेपाल एण्ड द इन्डियन इन्स्टीच्यूट अफ टेक्नोलोजी मदरासबीचसमेत सम्झौता हुनेछ।

प्रधानमन्त्री मोदी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्सीय टोलीसहित सोमबारनै स्वदेश फर्किनुहुनेछ।