भदौको तेश्रो साता दाङमा स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुँदै

भदौको तेश्रो साता दाङमा स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुँदै

दाङ, साउन २३ । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता भदौको तेश्रो साता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता गर्न लागिएको आईतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिता संयोजक एवम् दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षता तथा दक्षिण एशियाली हाप्किडो महासंघ अध्यक्ष कालीबहादुर घर्तीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि प्रतियोगिता बारे जानकारी गराईएको थियो ।

सो अवसरमा प्रतियोगिता बारे जानकारी जानकारी गराउँदै संयोजक बुढामगरले जिल्लाभरका ५४ विद्यालयबाट पाँच हजार खेलाडी सहभागी हुने बताउनुभयो ।

दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगितामा फाईट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समुहमा प्रतिष्पर्धा हुनेछ ।
जस अनुसार, १५–२०, २०–२५, २५–३०, ३०–३५, ३५–४०,४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७० भन्दामाथि तौल समूहले स्पर्धा गर्ने उहाँले बताउनुभयो ।

यस्तै, प्रतियोगितामा डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिष्पर्धा हुने भएको संयोजक बुढामगरले बताउनुभयो ।

कोरियन मार्शल आर्ट्सबाट भित्रिएको हाप्किडोमा हाल देशभर ४६ हजार खेलाडी आवद्ध छन् । प्रतियोगितामा करिव १० लाखको खर्च अनुमान गरिएको छ।

विजेतालाई मेडल प्रमाण पत्रसहित वेस्ट प्लेयर महिला, पुरुष, टिम प्रथम, दोश्रो र तेश्रो तथा अनुशासित खेलाडी एवम् वेस्ट रेफ्रीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सो अवसरमा प्रमुख अतिथि घर्तीले नेपालमा छोटो समयमा हाप्किडोको पहुँच बिस्तार हुँदै गएको बताउनुभयो ।

स्कुल तहबाट हाप्किडो खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण हुँदै आएको हुँदा देशलाई स्वस्थ्य नागरिक उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यसअघि, जिल्ला स्तरीय, प्रदेश स्तरीय, राष्ट्रिय स्तरीय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार भईसकेको बताउँदै यसले दक्ष खेलाडी उत्पादन गर्न सघाउ पुगेको विश्वास व्यक्त गर्नुभयो ।