कप्तान सन्दीपलाई निलम्बनको तयारी

कप्तान सन्दीपलाई निलम्बनको तयारी

काठमाडौं, भदौ २२। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।

क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको बताए । “आज साँझ वा भोलि बिहानसम्म सन्दीपको विषयमा हामीले निर्णय गर्नेछौँ,” क्यानका ती पदाधिकारीले भने, “सन्दीपमाथि लागेको यो आरोपले नेपाली क्रिकेटलाई ठूलो क्षति पुगेको छ । क्यानले पनि यस विषयलाई गम्भीर रूपमा हेरेको छ ।”

सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएका थिए । केन्याबाट नेपाली टोली भने आज नेपाल फर्कंदै छ । बाह्रखरीबाट ।