तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव रोक्न माग गर्दै उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

तुलसीपुर उद्योग वाणिज्य संघले  महोत्सव रोक्न माग गर्दै उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

दाङ, मंसिर १५। मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताउनुभयो ।

उहाँले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताउनुभयो । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उहाँको अडान छ ।

उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्लाा प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।

यता, महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव जारी रहने बताउनुभयो । ‘हामीले अनुमति लिएरै महोत्सव लगाएका छौं ’ उहाँले भन्नुभयो, ‘अनुमति लिइसकेपछि महोत्सव रोक्ने कुरा हुदैन ।’ उहाँले अहिलेसम्म महोत्सव सञ्चालनका लागि लाखौं खर्च समेत भइसकेको बताउनुभयो ।