सफल हाेला काङ्गेसकाे रणनीति ?

सफल हाेला काङ्गेसकाे रणनीति ?

दाङ, माघ ६ । सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार त्यही दिन दाहाल प्रधानमन्त्री र बिहीबार एमाले सांसद देवराज घिमिरे सभामुख भइसकेका छन् । दुई शीर्ष नेताले पुस १० मै राष्ट्रपति एमालेबाट चयन गर्ने सहमति गरेका भए पनि कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेको छ । कांग्रेसको भूमिकाका कारण एमाले पनि ढुक्क देखिँदैन ।

एमालेले सहमतिअनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अभिव्यक्ति दोहोर्‍याइरहेको छ । राष्ट्रपतिमा सबै दलबीच समझदारी बनाउने प्रयास हुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार दाहालले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमतिको प्रयास भइरहेको बताए । ‘सभामुखकै जसरी उपसभामुखको पनि निर्वाचन हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले एउटा समझदारी बनिदिए हुन्थ्यो भनेर प्रयास गरिरहेका छौं ।’

ओली भने एमाले उम्मेदवारको हकमा मात्रै राष्ट्रिय सहमति हुने बताउँछन् । ‘एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ,’ प्रतिनिधिसभाको बिहीबारको बैठकपछि उनले भने । माओवादीका एकथरी नेता भने सरकार गठनदेखि विश्वासको मतसम्ममा राजनीतिक परिस्थितिमा बदलिएको बताउने गरेका छन् ।

विश्वासको मत दिएका कारण कांग्रेसलाई दाहालले टाढा धकेल्न चाहेका छैनन् । त्यसैले उनले सहमतिको प्रयास गर्ने बताउँदै आएका छन् । दाहालले विश्वासको मत दिएका दलहरूको बैठक राखेर संवैधानिक पदमा सहमति गरेर जानुपर्ने प्रस्ताव राखिसकेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीको ‘प्रभाव’ सन्तुलन गर्न पनि प्रधानमन्त्री दाहालले कांग्रेससँग निकटता कायम राखिराख्न खोजिरहेका छन् । कांग्रेसले पनि आफ्नै पार्टीबाट राष्ट्रपति चयन गर्न भरमग्दुर प्रयास गर्ने देखिएको छ ।

एमालेको बलमा सरकार निर्माण भएकाले राष्ट्रपतिमा अर्को बाटो लिन नहुने आवाज पनि माओवादीभित्र छ । दाहालनिकट एक नेताका अनुसार राष्ट्रपतिमा सहमतिको प्रयास हुने बताए पनि ओलीलाई उनले बचन दिइरहेका छन् । सहमतिको प्रयास भइरहेको भन्दै दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई सन्तुलनमा राख्ने प्रयास गरेको ती नेताको भनाइ छ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।