सरकारी तहबाट धान खरिद सुरु नभएपछि बाँकेमा कम मुल्यमा धान विक्री गर्न बाध्य

सरकारी तहबाट धान खरिद सुरु नभएपछि बाँकेमा कम मुल्यमा धान विक्री गर्न बाध्य

बाँके, मंसिर १६। बाँकेमा किसानहरुले धान भित्राएको लामो समय भएपनि सरकारी तहबाट धान खरिद सुरु नभएपछि कम मुल्यमा धान विक्री गर्न बाध्य भएका छन् । सरकारले मोटा धान दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ रुपियाँ प्रति क्विन्टल खरिद गर्ने निर्णय गरेको भएपनि व्यवसायीहरुलाई दुई हजार रुपियाँ प्रति क्विन्टल धान खरिद गर्न बाध्य भएको किसानहरुले जनाएका छन् ।

यसवर्ष धान भित्राउने समयमा आएको बेमौसमी वर्षाका कारण किसानको धानबालीमा क्षति  पुग्यो । वर्षाबाट जोगिएको धान समेत न्यून मुल्यमा विक्री गर्नुपर्दा थप क्षति भएको खजुरा गाउँपालिका ४ का गोविन्द खत्रीले बताउनुभयो । गतवर्ष भन्दा पनि यसवर्ष व्यवसायीहरुले धानको खरिद कम मूल्यमा गरिरहेका छन्, खत्रीले भन्नुभयो,– सरकारले निर्धारण गरेको मूल्य पाउन असोजदेखि नै धान खरिद थाल्नु आवश्यक छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले केन्द्रबाट धान खरिदका लागि पत्र प्राप्त भइसकेको जानकारी दिँदै एकसाताभित्र धान खरिद कार्य सुरु गरिने बताउनुभयो ।
बाँकेमा यसवर्ष २५ हजार क्विन्टल धान खरिदका लागि केन्द्रबाट परिपत्र आएको भन्दै लिमिटेडका धान खरिदका लागि आवश्यक प्रक्रिया तत्कालै थालिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिको बैठक बसेर धान खरिदका लागि आवश्यक प्रक्रियाको टुङ्गो लगाएर धान खरिद कार्य एकसाताभित्रै सुरु गरिने प्रमुख विष्टले बताउनुभयो । लिमिटेडको कार्यालयमा रहेको गोदाममा सुरुमा धान खरिद सुरु गरिने भएको छ ।

गोरखापत्र अनलाइनबाट ।