जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लमजुङ, मंसिर २३। लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप आज बिहीवार गोया खोल्सामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर पिकनिक जाँदै गरेको जीप दुर्घटना परेको हो । दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका(८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका(९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई चितवन पठाइएको र ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । साँघुरो बाटो र जीप पछाडि गर्न खोज्दा दुर्घटना भएको हो ।