प्रदेश राजधानी पुग्न घोराही–भालुबाङ सुरुङ मार्ग –ठूलोमा चालु आव मित्र सम्भाव्यता अध्ययन पुरा हुने– सानोमा

प्रदेश राजधानी पुग्न घोराही–भालुबाङ सुरुङ मार्ग –ठूलोमा चालु आव मित्र सम्भाव्यता अध्ययन पुरा हुने– सानोमा

पाण्डव शर्मा
घोराही, २३ मंसिर । दाङ उपत्यकाबाट लुम्बिनी प्रदेशको राजधानी भालुबाङ पुग्न सुरुङ मार्गको अवधारणा अघि सारिएको छ ।
द्रूत गतिमा प्रदेश राजधानी पुग्नका लागि घोराही–भालुबाङ सुरुङ मार्ग निर्माणको प्रकृया अघि बढाइएको लुम्बिनी विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार घोराही उपमहानगरपालिकाको रामपुर हुँदै देउखुरीको डवरीको माथिल्लो भागमा निस्कने सुरुङ मार्ग निर्माण गरिने छ । त्यसका लागि सम्भाव्यता अध्ययनको काम शुरु भइसकेको छ । ‘चालु आर्थिक वर्षको अन्त्य सम्ममा हामीले सम्भाव्यता अध्ययन गरिसक्ने छौं,’ घिमिरेले भन्नुभयो, ‘सम्भाव्यता अध्ययनको काम पुरा भइसकेपछि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने काम हुने छ ।’
सुरुङ मार्ग निर्माण पछि घोराहीबाट प्रदेश राजधानी पुग्न आधा घण्टा मात्रै लाग्ने छ । अहिले घोराहीबाट भालुबाङ पुग्न गाडीमा करिब पौने दुई घण्टा लाग्छ । सुरुङ मार्ग निर्माण पछि दाङ उपत्यकावासी नागरिकलाई प्रदेश राजधानी पुग्न निकै छोटो दूरी हुने छ । साथै प्रदेश राजधानी आएका अन्यत्रका व्यक्तिहरू समेत इच्छा अनुसार छोटो समयमा घोराही पुग्न सक्ने छन् । ‘यसले समग्र राजधानी र दाङको विकासमा महत्वपूर्ण योगदान पुग्ने छ,’ घिमिरेले भन्नुभयो,‘सुरुङ मार्गले हाम्रो समय तथा इन्धनको बचत गर्ने छ ।’
घोराही–स्वर्गद्धारी केबलकार
लुम्बिनी विकास प्राधिकरणले घोराही–स्वर्गद्धारी केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययनको काम शुरु गरेको छ ।
लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थल स्वर्गद्धारी पुग्नका लागि केबलकारको अवधारणा अघि बढाइएको लुम्बिनी विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले जानकारी दिनुभयो । ‘यो प्रदेशमा लुम्बिनी पछि सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यस्थल भनेको स्वर्गद्वारी हो, यहाँ वार्षिक लाखौं पर्यटकहरू जाने गर्छन्,’ उहाँले भन्नुभयो, ‘केबलकार निर्माणपछि स्वर्गद्वारी जाने पर्यटकहरूको संख्या ह्वात्तै बढ्ने छ ।’ प्रदेश राजधानी भालुबाङबाट घोराही सुरुङ मार्ग र घोराहीबाट स्वर्गद्वारी केबलकार निर्माण गरिएमा यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने घिमिरे बताउनुहुन्छ ।

प्रदेश सभा भवन निर्माणको काम ६५ प्रतिशत पुरा
लुम्बिनी प्रदेश सभा भवन निर्माणको काम ६५ प्रतिशत पुरा भएको छ । स्थानीय राजधानी राप्ती गाउँपालिकामा निर्माण भइरहेको प्रदेश सभा भवन यही गतिले निर्माणको काम भइरहने हो भने आगामी एक महिना भित्र हस्तान्तरण भइसक्ने लुम्बिनी विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरे बताउनुहुन्छ । तर, थपिएको बजेट प्रदेश सरकारले विनियोजन नगर्दा अहिले काममा सुस्तता आएको छ । अहिले १५ जना मजदुरहरूले मात्रै काम गरिरहेका छन् ।
पछिल्लो पटक कार्तिक ७ गतेबाट प्रदेश भवन निर्माणको काम शुरु भएको थियो । वैशाखबाट शुरु भएर भदौमा हस्तान्तरण गरिसक्नुपर्ने भवन निर्माण कम्पनीको ढिलाईका कारण हुन सकेको थिएन । प्राधिकरणमा घिमिरे प्रमुख भएर आएपछि मुख्यमन्त्री कुलप्रासद केसी सोनामको निर्देशनमा ठेकेदार कम्पनीले पुनः काम शुरु गरेको थियो ।
पहिले डिजाइनमा भए पनि ठेक्का सम्झौतामा नभएको बाहिरी गारोमा चाइनिज इट्टा लगाउने, आखिझ्याल राख्ने र ढुंगाले छाउने काम पनि थपिएको छ । प्रदेश सभाको आग्रह र स्वीकृतिमा यी काम शुरु गरिए पनि बजेट विनियोजन हुन सकेको छैन । शुरुमा कुल ६ करोड रुपैयाँको ठेक्का सम्झौता भएपनि थपिएका काम गर्नका लागि थप ३ करोड रुपैयाँ बजेट लाग्नेछ  । प्रदेश सरकारले आइतबार सम्म बजेट स्वीकृत नभए प्रदेश सभा भवन निर्माणको काम रोकिने घिमिरे जानकारी दिनुभयो ।