दाङमा गोठ भित्र पुगेर बाघले खायो बाख्रा

दाङमा गोठ भित्र पुगेर बाघले खायो बाख्रा

दाङ, मंसिर, २४। दाङको बबई गाउँपालिका वडा नम्बर ५ मा गोठमै राखेका १४ वटा बाख्रा बिहीबार बाघले मारेको छ । त्यसैगरी, वडा नम्बर ७ को कृष्णपुरमा हुरुम सामुदायिक वनमा चराउन लगेको समयमा कुलबहादुर घर्तीको दुई वटा बाख्रा बाघले मारिदिएको छ ।

इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीका अनुसार वडा नम्बर ५ बगरपुरका देवबहादुर वलीका १४ वटै बाख्रा बाघले रगत चुसेर फ्याकेको अवस्थामा फेला परेका हुन् । करिब दुई लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

पाठा भने घरमै राखिएकाले सुरक्षित रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सो क्षेत्रमा बाघले घर पालुवा जनावर मारेको बबई गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर श्रीषले बताउनुभयो ।