माओवादी केन्द्रको प्रदेश सम्मेलन आजबाट दशवटै प्रदेशमा एकैसाथ हुँदै

माओवादी केन्द्रको प्रदेश सम्मेलन आजबाट दशवटै प्रदेशमा एकैसाथ हुँदै

दाङ, मंसिर २५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आजबाट दशवटै प्रदेशमा एकैसाथ हुँदैछ । माओवादी केन्द्रका अनुसार सात भौगोलिक र तीन गैर(भौगोलिक गरी १० प्रदेशमा सम्मेलनको तयारी रहेको छ।

अधिवेशनको आज दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने पार्टीले जनाएको छ।

माओवादीले सात भौगोलिक सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । सात प्रदेशको राजधानीहरुमा र विशेष र सम्पर्क समितिले आफ्नो अनुकूलमा गर्ने बताएका छन । सम्मेलनबाट नौ पदाधिकारी सहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

जस अनुसार प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति कम्तीमा १७५ सदस्य चयन हुनेछन।

यसैबीच लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ । यी मध्येबाट अध्यक्ष र सचिव हुन सक्ने स्रोतले जनाएको छ ।