युवा नेतृत्व

युवा नेतृत्व

अबिसेक डाँगी,काठमाडौं । युवा पुस्ताबारे बहस गरिरहँदा हामीले प्रतिनिधित्व गर्ने वा हामीले बहसको केन्द्रमा राखेका युवा को हुन् ? युवा भन्नेबित्तिकै वैज्ञानिक रूपमा पनि निश्चित उमेर समूहसँग जोडिन्छ । जिन्दगीका अनेक कष्टहरूबाट झेलिँदै गाँस, वास, कपास र एउटा सुरक्षित जीवनको परिकल्पनामा देशभित्र र बाहिर श्रममा हेलिएको युवाहरूसँग राख्ने अपेक्षाहरू कत्तिको वस्तुनिष्ठ हुन्छन् ? नेपाली समाजले आजको युवासँग राख्ने अपेक्षा र हामीले राखेको नेतृत्वको अपेक्षा तादात्म्य छ ? हामीले खोजेको नेतृत्व खास उमेर समूहसँग मात्र जोडिएको हो कि उसका विविध आयाम र प्रश्नहरूमा निर्भीक उभिन सक्ने भिजन, आचरण एवं व्यवहार भएको हो ?

युवा पुस्ता भर्सेज समाज

नेतृत्वका बारे एउटा चर्चित भनाइ फ्रान्सेली दार्शनिक जोसेफ द मेस्टले १८ औँ शताब्दीतिरै भनेका थिए– हरेक देशले त्यस्तै सरकार (शासक) पाउँछ, जसको ऊ हकदार छ । यही भनाइलाई सामान्य गरी समाज जस्तो, नेता पनि त्यस्तै भन्ने गरेको पाइन्छ । भलै, यो भनाइमाथि केही असहमति राख्दै खासखास समय रुढीवादी सामाजिक मान्यता एवं राज्य व्यवस्थालाई बदल्ने र प्रश्न गर्ने मानिसहरू कसरी समाजबाटै जन्मिन्छन् भन्ने प्रश्न गर्न पनि नसकिने होइन । नयाँ पुस्ताबाट नयाँ नेतृत्वको आकांक्षा राख्दै गर्दा समाजले अहिलेको युवा पुस्तासँग राख्ने अपेक्षाका बीच भने धेरै बेमेलहरू देखिन्छन् ।

सामान्यतया आफ्ना छोराछोरीसँग बुबाआमाले, आफन्त र समाजले युवाको निजी आकांक्षाको पर्वाह नगरी अपेक्षाको भार युवामाथि थपिदिएका हुन्छन् । बुबाआमा पुस्ताले आफूले प्राप्त गर्न नसकेको असफलताका सूचीहरू जस्तै, आफ्ना छोराछोरीले तोकिएको विषय पढून्, गतिलो जागिर खाऊन्, पैसा कमाऊन्, घरजग्गा, यातायातका साधन जोडून् भन्ने लामो सूचीको फेहरिस्त प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छोराछोरीलाई बुझाउँछ ।

कलेज जाने उमेर भएका छोराछोरीलाई आमाले अझै पनि सम्झाउँछिन्– लभ गर्नै परे आफ्नो जात मिल्नेसँग गर्नू, बिहे भनेको जात मिल्नेसँग गर्नुपर्छ । आजकाल विदेशमा पढ्न जानेलाई भने बिहे नेपालीसँगै गर्नुपर्छ है भन्न थालिएको छ । केही अपवाद होलान्, वर्गअनुसार केही तलमाथि होलान् तर हर घरको कहानी लगभग उस्तै हो । आफूले कोसँग प्रेम गर्ने, कुन विषय पढ्ने, जीवनमा के बन्ने, के गर्नेलगायत आधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?

आफ्नो विवेकलाई समाजको अपेक्षासँग बन्दकी राखेर होइन, सत्यको खोजी गर्दै संघर्ष गर्नुपर्छ भन्ने प्रश्न युवासँग जति पनि गर्न सकिन्छ । तर ती प्रश्नको तीर अलि बलियो गरी समाजतिर पनि तेर्साउनुपर्ने भएको छ । जसको अपेक्षा पूरा गर्ने लालसामा आफ्ना सपना मारेर जिउन विवश युवा पुस्ता पनि त समाजले नै तयार पारिरहेको छ । डा गोविन्द केसीको अभियानमा प्लेकार्ड बोकेर माइतीघर मण्डलामा उभिएर फेसबुकमा फोटो हाल्नुसम्म

त ठीकै छ तर राज्य प्रणालीका जटिल मुद्दाहरूमा धेरै प्रश्न नगरोस्, समाजका आधारभूत र मूल्य–मान्यतामा प्रश्न नगरोस् भनेर लक्ष्मण रेखा राखिदिने पनि यही समाज नै हो ।

नेतृत्व भर्सेज समाज

नेतृत्वबारे पनि एउटा अपरिभाषित मान्यता त छँदै छ– अग्लो मञ्चमा उभिएर जीउडाल मिलेको, गहुँगोरो वर्णको एउटा सुकिलो पुरुष, जसले हामीले जे सुन्न चाहेको हो, त्यही मिलाएर बोलिदिन्छ । यो अपरिभाषित नेतृत्वको अवधारणाले नेतृत्वमा महिला, चिम्सा आँखा र थेप्चो नाक भएको, मधेसी मूलको अनि समाजको पीँधमा रहेको वर्ग र वर्णका मानिस त स्वत: आउट भइहाले । राजनीतिको परिधिभन्दा बाहिर पनि समाजका विभिन्न क्षेत्र, भूगोल, समुदाय स्तरमा मिहिनेत र संघर्ष गरिरहेका मिडियामा नाम नआउने ती सबै पनि मैदानबाट बाहिरै परे ।
राजनीतिको भूगोलभित्र पनि चलिरहेको ट्रेन्डमा आफ्नो हिस्सा खोज्न दाउ चलाइरहेका टाठा नेताहरूको हुलबाट पर एन्टी करेन्ट भई प्रश्न र आलोचना खप्न तयार हुनेहरू पनि चलिरहेको नेतृत्वको डिस्कोर्सको परिधिमा अट्ने भएनन् । त्यसैले समाजले अपेक्षा गरिरहेको र उसको अहिलेको अपेक्षामा आफू सेट हुन मिहिनेत गरिरहेको नेतृत्वको चरित्र र नेताका पनि पर्याप्त खोट छन् ।

युवा पुस्ताको नेतृत्व

लेखकद्वय दोभान राई र रोहेज खतिवडाले प्रश्न उठाएजस्तै नेतृत्वको सन्दर्भमा वर्तमान युवा पुस्तासँग कयौँ समस्याहरू छन् । सकेसम्म राजनीतिक विषय र बहसबाट परै भाग्न खोज्ने, खासखास घटना र सन्दर्भमा प्रतिक्रियात्मक मात्र हुने तर विषयको गहिराइमा जान नखोज्ने, अझ सामाजिक सञ्जाल एवं डिजिटल संसारसँगको पहुँचले र मानिसहरूलाई यति वैयक्तिक (इन्डिभिजुयालिस्टक) बनाइदिएको छ कि सामाजिक सञ्जालमा आफूले गरेको पोस्टमा लाइक, कमेन्ट र सेयरहरू गनेर दंग पर्ने/बस्ने अवस्थामा पुर्‍याइदिएको छ । छिट्टै पपुलर र सेलिब्रेटी हुने हुटहुटीले साना कामहरूमै नाम खोज्ने एवं उपलब्धि र परिवर्तनतिर भन्दा आफ्नो सोसल क्यापिटल बढेको भ्रममै मस्त पारिदिएर राखेको छ । द्रुत उपलब्धिको अभिलाषामा छटपटिरहेको युवा पुस्तालाई जोखिम मोलेरै लामो संघर्षको यात्रामा लाग्न उत्प्रेरणात्मक प्रश्नहरू पनि सोध्नुपर्ने भएको छ ।

युवाहरूका लागि प्रेरणाको स्रोत के हो ? उनीहरूले के सिक्ने, अनुभव गर्ने अवसरहरू कहाँ छन् ? तिनलाई उद्वेलित बनाउन के कस्ता तत्त्वहरू आवश्यक छन् ? विदेशमा श्रम गरिरहेका, गर्न बाध्य लाखौँ युवालाई आफ्नो जिन्दगी नै यस्तै हो भनेर आफ्नै पुर्पुरो ठोकेर चालीस कटेसी रमाउँला गीतमा मग्न हुने नै होइन, आफ्नो जिन्दगी यस्तो बनाइदिएकामा राज्य संयन्त्र र यसका हर्ताकर्तालाई प्रश्न गर्ने हो भन्ने अवस्थामा कसरी पुर्‍याउने ? ग्लोबलाइजेसन र डिजिटलाइजेसनले नयाँ कुरा सिक्न अवसर दिएको छ तर कतै सोसल मिडिया सेलिब्रेटी हुने र लुक गुड मात्रै देखिन प्रेरित त गरिरहेको छैन ? टिकटक र पब्जीमा रमाइरहेको युवा पुस्तालाई बृहत सामाजिक विषयमा संवाद गर्ने थलो कहाँ छ ? त्यस्ता थलो बनाउन भइरहेका प्रयत्नहरू कहाँ छन् ?

नेतृत्व संकटबाटै आउँछ, अमन

चयनमाझ साइत हेरेर नेतृत्व आउने त होइन तर युवाप्रति नेतृत्वको अपेक्षा गरेर उनीहरूलाई प्रश्न गर्दा समाजलाई बुझ्ने र प्रश्न गर्न छाड्नु भएन ।

वर्तमानको राजनीति र नेतृत्वको अभ्यास

राजनीतिको आफ्नै दु:ख छ, अबको राजनीति समाज बुझ्ने, त्यसलाई बदल्ने, संघर्ष गर्ने र जोखिम उठाउने भएन । अहिलको राजनीतिको चार्म बेग्लै छ, ठूलो नेताले सानो नेता पाल्ने, सानो नेताले कार्यकर्ता पाल्ने, कार्यकर्ताले स्थानीय लाभका क्षेत्रमा आफ्नो मुठ्ठी दह्रो पार्ने र केन्द्रदेखि गाउँ स्तरसम्म कार्टेलिङ चलाउने । दलीयकरणको प्रकोप यस्तो छ कि समुदाय स्तरमा कुनै दलसँग आबद्ध नभई स्वतन्त्र तबरले सामाजिक काम गर्छु भन्नेहरूमाथि पनि शंका गर्ने अवस्था आएको छ । दलहरू नयाँ जातमा परिणत हुँदै छन् र आफ्नोभन्दाबाहेकका अन्य दल र त्यसमा आस्था राख्नेहरू अछूतजस्तो हुँदै जाँदै छन् ।

दु:ख यस कारण पनि छ कि आर्थिक सम्बन्धमा जेलिएको यो कार्टेलिङमा युवा पुस्ताले अब कुनै मुद्दा समात्नु परेको छैन, अध्ययन, अनुसन्धान गरेर नयाँ विचारको निर्माण र आफ्नो विचारको परिमार्जन परीक्षण गर्नु परेको छैन । बलिया दाइ नेताहरूमध्ये एउटा दाइलाई जोडले समातेर तिनको राजनीतिक सेवा गरे पुग्छ । एक हिसाबले बलिया दलहरूले नयाँ सोच र सत्य बोकेको स्वाभिमानी युवालाई आफ्नो दलमा औपचारिक प्रवेशको प्रक्रियालाई लगभग समाप्त पारिदिएका छन् ।

कुनै समय आफ्नो माउ दलको निर्णय प्रक्रियालाई हस्तक्षेप गर्न सक्ने विद्यार्थी र युवा संगठनहरू केही वर्षअघिसम्म पेट्रोलियम पदार्थको भाउ बढ्दा सशक्त बोल्ने गर्दथे । भलै, पेट्रोल, मट्टीतेलको भाउमा २ रुपैयाँ घट्नेबित्तिकै दुई दिने आन्दोलनले आराम गर्दथ्यो । आजभोलि राजनीतिक पार्टीका ती संगठन र तिनका गतिविधिलाई दिउँसै बत्ती बालेर खोज्नुपर्नेजस्तो भएको छ । नयाँ पुस्तासँग अर्थराजनीतिक संवाद गर्ने, पार्टीको माथिल्लो पदमा रहेका नेतृत्वलाई प्रश्न गर्ने, नयाँ वैकल्पिक विचार र कार्यक्रमसहित तयार हुनुपर्ने संगठन एवं संरचनाहरू माउ नेताका कठपुतलीजस्ता मात्र भएका छन् । यी संरचनाहरू र चालू संस्कार एवं विचार निर्माणको पद्धतिबाट केही होला भन्ने आशा गर्न सकिन्छ र ?

नेतृत्व भर्सेज नेता

केही सुधारवादीहरू अचम्मको आशावादिता साँचेर बाँच्दछन्, अहिलेकै संरचना, अहिलेकै पद्धति र संस्कारमाझ हल्काहल्का सुधार गर्दै जाँदा परिवर्तन सम्भव देख्छन् । कम जोखिमपूर्ण र अझ खासै जोखिम उठाउनु नपर्ने यो बाटोमा हिँड्दा सहज त हुन्छ । तर संरचनाहरू नबदली नहुने ठाउँमा थोरै संस्कार मात्र फेरेर आउने सुधारमा समाजका कुन कुन वर्ग र वर्णले आफ्नो पनि सुधार भेट्लान् ?

एउटा युग नायक आएर हामी सबैलाई उद्धार गरिदिनेछ भन्ने आम अपेक्षा नै गलत हुने नै भयो । आफ्ना सबै आकांक्षाहरू एक जना नेतालाई बोकाइदिएपछि हाम्रोजस्तो जटिल र जड संरचनामा भेटिने त निराशा मात्रै हो । बहसहरू को नेता ठीक र को गलत भन्नेबाट समाजलाई नयाँ यात्रामा डोर्‍याउने नेतृत्व कस्तो हो भन्नेतिर मोडिँदा त्यो भनेको प्रक्रिया पनि हो भन्ने बुझिन्छ । यो प्रक्रिया एक्लै चाल्ने होइन, एक्लै दौडेर समाजका जटिल मुद्दाको हल खोज्न पनि सकिन्न, सामुदायिकतामा कसरी नेतृत्व खोज्ने र सामूहिक पहलहरूबाट रूपान्तरणको

बाटो अघि पर्गेल्न थप मन्थनहरू आवश्यक छन् ।

अबको नेतृत्वबारे मन्थन गर्दा उस लाई उपलब्धि वा पदमा मात्र सीमित नराखेर, नेतृत्व प्रक्रियामा, केन्द्रीय राजनीतिमा मात्र नभई सामुदायिकतामा समुदायस्तरमा खोजिनुपर्दछ । नयाँ गतिशील र मुद्दा केन्द्रित राजनीति खोजेको हो भने समाजका आधारभूत प्रश्नहरूलाई पन्छाएर होइन, त्यसमा पर्याप्त बहस गर्ने एवं नयाँ काल्पनिकीको खोजी गर्ने र तत्कालको लोकरिझ्याइँमा रमाउने होइन, आलोचना खप्न र जोखिम उठाउन तयार सामूहिक र संगठित प्रयत्नको खाँचो छ । ७० कटेका बर्नि स्यान्डर्सले अमेरिका, कोर्विनले बेलायतहरूमा युवा पुस्तालाई लिएर नयाँ अर्थराजनीतिक व्यवस्थाको उद्घोष गरिरहेका छन् । के हाम्रो समाज त्यस्तै सहकार्य र सामूहिक प्रयत्नका लागि तयार छ ? चल्तीको लोकरिझ्याइँको राजनीतिबारे प्रश्न गर्दै लोकपरिर्वतनको राजनीतिमा सामूहिक नेतृत्वको औचित्य र आवश्यकताबारे थप बहसहरू हुँदै जानुपर्छ