आर्थिक र व्यवसायीक सुरक्षाको लागि एकल सरकार आवश्यक

आर्थिक र व्यवसायीक सुरक्षाको लागि एकल सरकार आवश्यक

दिनदिनै मुलुक आर्थिक संकटतर्फ अगाडी बढ्दैछ । केही महिना अगाडी सम्म सहजरुपमा सञ्चालित सबै जसो व्यापारव्यवसायहरु बन्द हुने अवस्थामा छन् । पेशाकर्मीहरुले पनि सयममा नै पारिश्रमिक पाउने अवस्था छैन । मुलुक आर्थिक संकटको चरम दलदलमा प्रवेश गरिसकेको छ । अहिलेको अवस्था आउनुमा कुनै एक पक्षकोमा दोष छ भन्न मिल्दैन । सबैको धेरैथोरै कम्जोरी, लापरबाहीका कारण चलायमान नेपालको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको छ ।
यी र यस्तै कारणहरुले गर्दा यतिबेला बित्तीय संस्थाहरुले लगानी गरिरहेका छैनन् । गरेपनि त्यसको व्याज चर्कोछ ।

यतिबेला व्यवसायीक सुरक्षाको कुरा जोडदारतवरले उठेको छ । खासगरी बैंक, बित्तीय संस्थाहरुले सहज ढंगबाट लगानी नगरी रहेको अवस्थामा उनीहरुले पछिल्लो समयमा धेरै वर्ष अगाडी ऋण लगेको ऋणिहरुलाई समेत आफ्ठेरोमा पार्नेगरी दुईगुणा बढि बैंक व्याज बढाएको छ । हिँजा ७÷८ प्रतिशत व्याजमा ऋण लगेर व्यापारव्यवसाय गरेका हजारौहजारले यतिबेला १५÷१८ प्रतिशतसम्म व्याज तिर्नै पर्ने बाध्यत्मक अवस्था बैंकले नियम बनाएर लादेको छ । यो कुराको बिरोधमा यतिबेला नेपाल भरका उद्योगी, व्यवसायीहरु आ–आफ्नै ढंगबाट बिरोधमा उत्रिएका छन् ।

वास्तवमै बजार एकदमै मन्द गतिमा चलेको छ । यस्तो समयमा वैंक तथा सम्बन्धित निकायहरुले राहतको प्याकेज ल्याउने ठाउँमा व्याजमा चरम बृद्धि गर्नु न्यायसँगत कुरा होइन । महिना भरी कारोबार गरेर घरभाडा समेत तिर्न नसक्ने अहिलेको अवस्थामा हिँजोको भन्दा पनि दुईगुणा बढि व्याज तिर्नु पर्दा कसरी ढुक्क भएर आफ्नो पेशाव्यवसाय सञ्चालन गर्न सकिन्छ ?
अहिलेसम्म हिँजोका दिनमा कमाएर गरिएको बचत, आफूले अंगालेको पेशाबाट गरिएको आम्दानीले अहिलेसम्म जेनतेन आफूले गरेको काममा सबैजना टिकेका छन् । घरघर्च पनि त्यही किसिमले चलेको छ । टिक्न नसक्नेहरु बिदेशी सकेका छन् । तर अब पनि मुलुकको अर्थतन्तत्र चलायमान भएन, खराब नीति कार्यक्रमहरु खारेज हुन सकेनन्, मुलुकको आर्थिक विकासका लागि गतिशिल कार्यक्रमसहित कामकाजी सरकार निर्माण हुन सकेन भने अबको एकदुई वर्षमा नै बजारका अधिकांश सटरहरुमा ताला लाग्नेछ, नेपालको आधिबढि जनसंख्या बिदेशतिर हानिने छ ।

नेपाल सबै कुराले सम्भावना बोकेको देश हुँदा हुँदै, राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकास हुन सकेको छैन । नेपालको राजनीतिक इतिहासमै अहिलेसम्म पाँच वर्ष कुनै पनि दलले सरकार सञ्चालन गर्न सकेका छैनन् । यहाँसम्मकी सत्तालिप्सा अनि कुर्सी प्राप्तीको खेल यसरी घिनलाग्दो पाराबाट अगाडी बढेको छ कि आफूले अंगीकारण गरेको नीति, कार्यक्रम, सिद्धान्त समेत बेचेर सरकारमा सहभागि हुने गरेको इतिहास छ । २०४६ सालपछि यी र यस्तै खेलले गर्दा प्राप्त प्रजातान्त्रिक व्यवस्था सही तवरले सञ्चालन हुन सकेन । ९÷९ महिनामा सरकार परिवर्तन गर्ने खेल यसरी फोहोरी राजनीतिक खेलकारुपमा स्थापित भयोकि जसको लेखाजोखा गरेर साध्य छैन । जसले गर्दा प्राप्त प्रजातन्त्रनै खोसियो । यी र यावत कमिकमजोरीहरुलाई सच्चाउने प्रणसहित राजनीतिक दलहरुले आन्दोलन सुरु गरे । लामो समयसम्म दलको आन्दोलनमा जनताको सहभागिता हुन सकेन ।

धेरै नै विश्वास दिलाउने काम नेताहरुबाट भएपछि क्रमशः लोकतान्त्रिक आन्दोलन सफल भयो । २०६२÷०६३ को आन्दोलनले लोकतन्त्र ल्यायो । त्यसपछि मुलुकमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भयो । लोकतन्त्र आइसकेपछि पनि सत्ता परिवर्तनको खेल सुरु भएपछि दलहरुले राजनीतिक स्थायित्वका लागि कम्तिमा पनि २ वर्षसम्म सरकार परिवर्तन गर्न नमिल्ने कानून बनाए । संविधानमै यसलाई उल्लेख गरियो । त्यसपछि २०७४ सालमा संघ र प्रदेशको निर्वाचन भयो । त्यतिबेला बामपन्थीहरु (नेकपा एमाले, माओवादी केन्द्र) पार्टी एकीकरण गर्नेसम्मको घोषणापत्र लिएर जनताको घरदैलोमा पुगे । महिनै पिच्छे सरकार परिवर्तन हुँदा मुलुकले व्यहोरेको अफ्ठेरोबाट आजीत भएका जनताले नेकपा एमालेलाई प्रत्यक्ष र समानुपातिक गरेर १२१ सिटमा बिजयी बनायो, माओवादी केन्द्रले सबै गरेर ५३ सिट प्राप्त ग¥यो । एमालेको नेतृत्वमा सरकार बन्यो । त्यसपछि एमाले र माओवादीले पार्टी एकीकरण गरेर नेकपा बन्यो । तर दुःखका साथ भन्नु पर्छ । नेकपाको दुईतिहाइ नजिकको सरकार ३ वर्षमै ढल्यो । अझ जगहसाईको विषय त के भयो भने नेकपा र माओवादी केन्द्र दुई पार्टीमा विभाजन त भएकै थिए, सत्तालिप्सामा चुर्लुम्म डुबेको वर्तमान सरकारले २० प्रतिशत ले पनि पार्टी फुटाउन सक्ने अध्यादेश जारी ग¥यो । जुन अध्यादेशका कारण माधव नेपालको समाजबादी जन्मियो ।

यतिबेला हामीहरु निर्वाचनको संघारमा छौ । पाँच वर्ष अगाडी मुलुकको समृद्धि र विकास गर्नु भनेर म्यान्डेट पाएको मुख्य दल एमाले प्रतिपक्षमा छ । षड्यन्त्रमा माहिर समाजबादी अनि माओवादी केन्द्र सरकारमा छ । त्यो पनि यस्तो सरकार जसको बिरुद्धमा पाँचवर्ष अगाडी निर्वाचन लढिएको थियो, त्यही शक्तिको पुछर बनेर सत्तामा चप्किएको अवस्था छ । कांग्रेस पनि सरकारको नेतृत्व गर्नकै लागि अप्रजातान्त्रिक षड्यन्त्रमा चुर्लुम्म डुबेको छ । जसले गर्दा ३० महिना कांग्रेसले सरकार चलाएपनि यसबाट दुरगामी असर सिंगो पार्टीले नै व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । कम्युनिष्टहरु चिराचिरा परेको समयमा प्रतिपक्षमा पुगेको कांग्रेस पार्टीलाई एकताबद्ध बनाउँदै जनताको बीमा पुगेको भए सायद आज समाज कांग्रेस मय हुने थियो । कांग्रेसको अहिलेको अवस्था यतिसम्म दयनिय भएको छ कि सरकारको नेतृत्व गर्दागर्दै एकातिर गठवन्धन गरेर रक्षात्मक अवस्थामा निर्वाचनमा उठ्नुपर्ने बाध्यता आइलागेको छ । अर्कोतर्फ प्रतिपक्षमा पुगेको, पार्टी विभाजन भएर सक्किन्छकि भन्ने आँकलन गरिएको एमालेमा दिनदिनै अन्य पार्टीबाट नेता कार्यकर्ताहरु प्रवेश गर्नेक्रम बढेपछि कार्यकर्ताहरुलाई जोगाउन, फर्काउनका लागि घरफर्क अभियान सुरु गर्नु परेको छ । यो अवस्था भनेको गठवन्धनमा बसेका सबै दलका लागि दयनीय अवस्था हो ।

जनताले धेरै ठूलो सपना देखेका छैनन् । विहान उठेदेखि साँझ सुत्दासम्म आफूले गरेको पेशाव्यवसाय राम्रोसँग चलाएर घरघर्च सहज ढंगबाट अगाडी बढाउन पाए हुन्थ्यो भन्ने पक्षमा जनता छन् । तर यतिबेला वर्तमान सरकारको लाचारीपनाका कारण आज खाएपछि भोली खान पाइन्छकि पाइँदैन भन्ने स्थिति सिर्जना भएको छ । रातको निन्द्रा हराएको छ । यतिसम्मकी कारोबार मन्द हुँदा सम्पर्क नम्वर परिवर्तन गरेर बस्नु पर्ने अवस्था छ । यो सबै कुरा दिनदिनै बढ्दैछ । तसर्थ सत्ता र कुसीको लागि अपवित्र गठवन्धन गरेको वर्तमान सरकार अनि यसमा सहभागि दलहरुले यदि छिटो भन्दा छिटो जनतामा परेका यावत समस्याहरु जसलाई सरकारले चाहेमा अहिले पनि परिवर्तन सक्छ, ती समस्याहरु समाधान गर्ने तर्फ ध्यान दिएनन् भने भोली चोकचोकमा, घरघरमा सरकारमा सहभागि नेता अनि दलहरुलाई जनताले उठिबास लगाउने अवस्था आउन सक्छ ।

श्रीलंकामा नेताहरु चोकचोकमा पिटिएको धेरै भएको छैन । नेपाल पनि श्रीलंकाकै बाटोमा जाँदैछ । अहिलेको दयनिय अवस्था सिर्जना गर्ने काम वर्तमान सरकारले गरेको छ । निर्वाचनको संघारमा मुलुक पुगेकाले जनताको दैनिकीलाई कष्टकर बनाएको वर्तमान सरकार र यसमा सहभागि दलहरुलाई जनताले यी र यस्ता कुराहरु राख्न जरुरी छ ।
मुलुकको राज्य संयन्त्र राजनीतिक संरचनाभित्र रहेको छ । संविधान पनि जनताले चुनेका जनप्रतिनिधिहरुले नै बनाएका हुन् । यस अर्थमा हामी कुनै न कुनै राजनीतिक दल वा विचारमा आबद्ध भएर मात्र मुलुकको राज्य संयन्त्रको अगुवाइ गर्न सक्छौ ।

तर राज्य संयन्त्रको अगुवाई गर्नेले जनताकै बलमा पाएको पद प्रतिष्ठालाई उच्च सम्मानित बनाउनका लागि जनताका पीरपर्का बुझेर कार्यहरु गर्नुपर्छ कि पर्दैन ?
विश्वकै शक्तिशालि अमेरिकाहोस् वा अर्थतन्त्रको बलियो देश चीन होस वा अरु कुनै विकसित मुलुकनै किन नहोस्, उनीहरुले प्रगतिको उचाई राजनीतिक बृत्तबाट उदाएर जनताको मत प्राप्त गरी सत्ताको नेतृत्व गर्नका लागि बनेको सरकारको कामकाजी नीीत, कार्यक्रम अनि कार्यक्षमताका कारण ती मुलुकहरुले दिनप्रतिदिन प्रगति गरिरहेका छन् ।

तर राजनीतिक यात्रामा आफूलाई समर्पित गरेका यहाँका राजनीतिक दल अनि नेताहरुले देश र जनताको लागि किन काम गर्न नसक्ने ? मुलुकलाई संकटबाट उकास्ने प्रयास समेत नगर्ने वर्तमान गठवन्धन सरकार र सरकारमा सहभागि दलहरुलाई अब के खानका लागि जनताले भोट दिने ? यदि अब पनि देश र जनताको लागि मेरो नै पार्टी ठिक छ, हाम्रो उमेदवार राम्रो छ भन्दै कामै नगर्ने, मुलुकलाई दिनप्रतिदिन अस्तव्यस्त बनाउने दल र उमेदवारलाई मत जाहेर गर्ने हो भने अर्को निर्वाचन आउँदासम्म नेपालको कूल जनसंख्याको दुई तिहाई मान्छेहरु बिदेशिने निश्चित् ।

गठवन्धनबाट बनेको सरकारले विश्वमै समृद्धि र विकासको उचाई हासिल गरेको अहिलेसम्म कुनै मुलुकको इतिहास छैन । नेपालमा त झनै खिचडी सरकारकै कारण मुलुक अहिलेसम्म अस्तव्यस्त छ । तसर्थ असफल गठवन्धनलाई मलजल गरेर समाजलाई उद्योगतिमा जानबाट अब जनताले रोक्नै पर्छ । यदि समाजलाई सही ढंगबाट अगाडी बढाउने, समृद्ध मुलुक बनाउने, क्रमशः यहाँको व्यथिति अनि अभावलाई हटाउने हो भने गठवन्धन बाहेक जोसुकै दलहोस् त्यसलाई बिजयी बनाएर अबको पाँच वर्षसम्म कसैले चाहेर पनि हटाउन नसक्ने सरकार बनाउनेतर्फ मत जाहेर गर्न सके मात्र क्रमशः हामी सबैको हीत हुनेछ ।

नेपाली समाज, व्यवसायीक सुरक्षा अनि समृद्धि र विकासका लागि पनि एउटै पार्टीलाई वहुमत आवश्यक छ । यतिबेला जनताले फराकिलो सोँच बनाएर मतजाहेर गर्नेतर्फ आफूलाई उभ्याउन सके मात्र मुलुक सहज बाटोमा जानेछ । हामीले खोजेको जस्तो समाज बन्नेछ, अन्यथा झोलितुम्बा बोकेर सबै जना पलायन हुने निश्चित छ ।
अन्तमा, यही मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदैछ, यो निर्वाचनले अबका दिनहरु कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्नेछ । तसर्थ मुलुकको समृद्धि र विकासको नेतृत्व गर्छु भनेर निर्वाचनमा एकल होमिएको दललाई मत जाहेर गर्ने तर्फ सबै मतदाताले ध्यान दिनुपर्छ । देशलाई मिलेर भोली पनि खोक्रो बनाउने योजनासहित पहिले नै गठवन्धन गरेर निर्वाचनमा भोट दिन कोही तयार हुन्छ भने त्यो भोटले उसलाई भविष्यमा रुवाउनेछ ।

बरु नयाँ नै छान्न मन छ भने रबी लामीछानेको नयाँ स्वतन्त्र पार्टी जो देशका अधिकांश स्थानमा एकल उमेदवार बनेको छ, त्यसलाई छानौ, राप्रपाले पनि लगभग ९० प्रशित उमेदवार एकल उठाएको छ, उसको लहर चलेमा उसले पनि एकल सरकार बनाउन सक्छ । त्यसलाई छान्दा पनि हुन्छ ।
यतिबेला सबैको आशा र भरोशाको केन्द्र बनेको नेकपा एमाले अहिले एकल वहुमत ल्याउने योजनासहित निर्वाचनमा ९५ प्रतिशत स्थानमा एकल उमेदवारी दिएको छ । उसलाई मत जाहेर गर्दा नेपालले यस पटक पहिलो वहुमतसहितको एकल सरकार पाउनेछ । तसर्थ आम मतदाता अनि सर्वसाधारण जनताले यी कुराहरुलाई ध्यान दिएर आफ्नो अमूल्य मत आउँदो निर्वाचनमा जाहेर गरेमा अहिलेको असजताबाट मुलुकले क्रमशः पार पाउँदै जानेछ । पलायनको अवस्थाबाट क्रमशः सबैले मुक्ति पाउनेछन् ।