गाउँमा युवा रित्तिंदै, वृद्धवृद्धा एक्लिंदै

गाउँमा युवा रित्तिंदै, वृद्धवृद्धा एक्लिंदै

सुमित्रा लुइटेल,काठमाडौं । आर्टमाण्डुबाट केही समयअघि एउटा गीत सार्वजनिक भएको थियो ‘सुनाखरी’ । गीतको भिडियोमा पाँचथरको एक गाउँमा बस्ने वृद्ध दम्पतीको कथा प्रस्तुत गरिएको छ । घरका युवा विदेशिंदा वृद्ध बाबुआमा कस्तो मनोदशामा बाँचिरहेका छन् भन्ने कुरालाई गीतमा मार्मिक ढंगमा उतारिएको छ ।

गीतमा देखाइएको यो वास्तविक कथा देशका हरेक गाउँमा तथा कतिपय अवस्थामा हसरमा पनि देख्न सकिन्छ । गाउँहरु त अहिले युवाविहिनजस्तै लाग्छन् ।धादिङकी सीता लोहनी आठ वर्षदेखि घरमा एक्लै छिन् । २०६८ सालमा श्रीमान् बितेपछि  घरमा उनी र छोरा मात्र थिए । तर २०७२ सालमा छोरा पनि कामको सिलसिलामा काठमाडौं आएपछि घरमा उनी एक्लै परिन् ।

‘श्रीमान् बित्नुभयो, छोरा आठ कक्षामा पढ्दै थियो । आयस्रोत केही पनि थिएन । त्यसैले एसएलसी दिने बित्तिकै छोरा काठमाडौं पुग्यो,’ उनी सुनाउँछिन् ।

गाउँमा उनका छोरा रोकिउन् पनि कसरी ? न पढ्नका लागि राम्रो कलेज न रोजगारीको कुनै अवसर । त्यसैले आफ्नो भविष्य बनाउन भन्दै छोरा काठमाडौं आए ।

‘आठ वर्षदेखि म एक्लै छु । बिरामी पर्दा पानी तताएर दिने मान्छे पनि कोही छैन । गाउँमा रोजगारी पाएको भए त छोरो मलाई एक्लै छोडेर जाँदैन थियो होला,’ लोहनी सुनाउँछिन् ।

उनका छोरा सुदीप गाउँमा रोजगारीको अवसर नभएकाले एक्लै आमालाई छाडेर सहर आउन बाध्य भएको बताउँछन् । ‘गाउँमै रोजगारी वा व्यवसाय गर्ने वातावरण भएको भए आमालाई एक्लै छोडेर आउने मन त मलाई पनि थिएन,’ उनी भन्छन् ।

०००

काठमाडौं सुकेधारा निवासी ६२ वर्षीय कमला खड्का र ६७ वर्षीय भोजराज खड्काका छोरा बुहारी १२ वर्षअघिदेखि अस्ट्रेलियामा छन् । घरमा कमला र भोजराज मात्र बस्छन् । ‘छोरी विवाह गरेर गइहाली छोरा पनि लामो समयदेखि अष्ट्रेलियामा बस्छ । घरमा हामी दुई मात्र छौं,’ कमला भन्छिन्, ‘हामी कहिले बिरामी भयौं भने खाना पकाएर दिने मान्छे कोही छैन, आफन्तहरू पनि नजिकै छैनन् भए पनि उनीहरूको आफ्नै काम हुन्छ, हाम्रो हेरचाह गर्न के भ्याउँथे ।’

वृद्धावस्थामा सन्तानको माया र हेरचाह नपाउँदा वृद्धवृद्धामा विभिन्न मानसिक समस्या समेत देखिन सक्छ : मनोचिकित्सक सुमनप्रसाद अधिकारी

उनीहरुलाई धेरै रोगले पिरोल्दै गएको छ, हेरचाह गर्ने व्यक्ति छैनन् । छोराले बेलाबेलामा पैसा त पठाइरहन्छ । ‘बजार गएर घरको लागि आवश्यक पर्ने सामान पनि किनेर ल्याउने  पनि शक्ति छैन,’ भोजराज दुःखेसो सुनाउँछन् ।

नुवाकोट डाङसिङकी हरिदेवी अधिकारी दम्पतीको पनि कथा उस्तै छ  । उनका जेठा छोरा १० वर्षदेखि विदेशमा छन् । ‘माइलो छोरा साउदीमा थियो फर्केको तीन महिना भयो, फेरि जानका लागि काठमाडौंमा बसेको छ । कान्छो छोरा पनि बाहिर जान पासपोर्ट बनाउन काठमाडौंतिरै छ,’ हरिदेवी सुनाउँछिन् । गाउँमा ५९ वर्षीय हीरादेवी र ६२ वर्षीय उनका श्रीमान् मात्र बस्छन् ।

‘श्रीमान् एकदमै बिरामी हुनुहुन्छ हातखुट्टा राम्ररी टेक्न सक्नुहुन्न । शौचालय पनि डोर्‍याएर लानुपर्छ,’ हीरादेवी सुनाउँछिन्, ‘चार जना छोराछोरी भए पनि बुढाबुढी मात्र छौं अहिले घरमा । एउटा छोरा विदेशमा छ । दुई छोरा पनि विदेश जानका लागि काठमाडौंमा छन् ।’

बिरामी श्रीमान् छन्, उनी आफू पनि गल्दै गएकी छन् । यस्तो बेला एक जना छोरा मात्र साथमा भए पनि कति आडभरोसा हुन्थ्यो भन्ने उनलाई लाग्छ । ‘तर के गर्नु बिरामीलाई उपचार गर्न नि पैसा नै चाहियो, नेपालमा काम पाइँदैन अनि विदेश नजाओ कसरी भन्नु,’ हरिदेवी भन्छिन् ।

***

पछिल्लो तीन दशकमा बसाइसराइ बढ्ने क्रम जारी छ । आन्तरिक बसाइसराइको समस्या त छँदैछ, त्यसमाथि पछिल्ला वर्ष आप्रवासन र प्रवासका समस्या थपिएका छन् । युवाहरू कामको सिलसिलामा सहर पस्ने र विदेशिने संख्या दैनिक रूपमा बढ्दो छ । चाहे अध्ययनको बहानामा होस् या कामको खोजीमा, डीभीको नाममा होस वा अनेक बहानामा युवाहरू विदेशिंदैछन् ।

पहिले धेरै चहलपहल हुने गाउँघर अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६-७ जना परिवारका सदस्य हुनेमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबाआमा मात्र भेटिन्छन् ।

बिरामी पर्दा अस्पताल लैजाने मान्छे छैनन्

गाउँघरमा वृद्धवृद्धाको अवस्था एकदमै नाजुक भएको सामाजिक कार्यकर्ता सौरभ रिमाल बताउँछन् । ‘सामाजिक कामको सिलसिलामा म  धेरै गाउँमा पुगेको छु, त्यहाँ युवाहरू छैनन्, वृद्धवृद्धा मात्र छन् । वृद्धवृद्धा बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने व्यक्ति पनि छैनन्,’ उनी भन्छन् ।

चितवन, सुनसरी, सिन्धुपाल्चोक, रामेछाप, सर्लाहीलगायत विभिन्न जिल्लाका गाउँमा पुग्दा युवाहरु एकदमै कम पाएको उनी सुनाउँछन् । ‘त्यहाँका युवा कोही कामको लागि सहर पसेका छन् भने केही विदेशिएका छन् । घरमा वृद्धवृद्धा मात्र छन्,’ उनी भन्छन् ।

सौरभ रिमाल, सामाजिक कार्यकर्ता

युरोप, अमेरिकातिर १८ वर्ष पुगेपछि परिवारसँग अलग भएर बस्ने चलन छ, त्यसबेला वृद्धवृद्धालाई सरकारले नै हेरचाह गर्छ । नेपालमा भने परिवारसँग नै बस्ने चलन छ, वृद्धवस्थामा सन्तानले नै आमाबुबाको हेरचाह गर्नुपर्छ । ‘तर युवाहरू धमाधम विदेशिएका कारण हेरचाह गर्ने सन्तान पनि छैनन् र सरकारले पनि हेरचाह गर्दैन, जसले वृद्धवृद्धामा निराशा देखिएको छ,’ रिमाल भन्छन् ।

वृद्धवृद्धासँग आफ्नो कुरा सुनिदिने पनि कोही छैन । उनीहरुलाई आफ्नो सन्तान आफूलाई छाडेर बाहिर नजाउन् भन्ने त हुन्छ, तर देशमा भविष्य नदेखेपछि युवाहरु विदेशिन बाध्य छन् ।

‘विदेशिएका सन्तानले पैसा त पठाउलान् तर समस्या परेको बेला सहयोग गर्ने कोही हुँदैन । बिरामी परेको बेला अस्पताल पुर्‍याउने मान्छे समेत भेटिंदैन,’ रिमाल भन्छन् ।

कस्तो हुन्छ वृद्धवृद्धाको मनोदशा ?

बुढेसकाल त्यसै पनि कमजोर अवस्था हो । शरीर कमजोर हुन थाल्छ, स्मरण शक्ति र सहनशक्ति निकै कम हुन्छ । साथै विभिन्न रोगले घेरेको हुन्छ । धेरै कामका लागि अरुको भर पर्नुपर्ने हुन्छ । ‘यी सबै कुरालाई सहेर बसिरहेका वृद्धवृद्धामा एक्लोपनको समस्याले झन् सताउँछ,’ मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी भन्छन् ।

वृद्ध उमेर बालपनजस्तै संवेदनशील हुन्छ । यस्तो बेला विशेष हेरचाहको आवश्यकता हुन्छ । ‘तर आजभोलि प्रायः घरमा वृद्धवृद्धा मात्र हुन्छन्, सन्तान काम र पढाइको लागि सहर वा विदेश गएका हुन्छन्, जसले गर्दा वृद्धवृद्धामा मानसिक समस्या बढिरहेको छ,’ डा. अधिकारी भन्छन् ।

डा. सुमनप्रसाद अधिकारी, मनोचिकित्सक

वृद्धावस्थामा सन्तानको माया र हेरचाह नपाउँदा वृद्धवृद्धामा विभिन्न मानसिक समस्या समेत देखिन सक्ने उनी बताउँछन् ।

‘संयुक्त परिवारमा बस्ने हाम्रो नेपाली समाज बिस्तारै एकल परिवारतिर मोडिंदै गएको छ । आमाबुबा र छोराछोरी तीन-चार जनाको परिवार । त्यो तीन-चार जनाको परिवारमा पनि छोराछोरी पढाइ तथा कामका लागि विदेशिंदा बुढा बाबुआमा मात्र घरमा हुन्छन्,’ डा. अधिकारी भन्छन्, ‘संयुक्त परिवारमा बस्दा एउटाको कुरा अर्कोले सुन्छ, सहयोग गर्छ जसले गर्दा वृद्धवृद्धा तनाव मुक्त हुन्छन् । तर वृद्धावस्थामा सन्तानसँग छुट्टिएर एक्लै बस्दा अनिद्रा, चिन्ता र निराशा बढ्छ ।’

यसले एन्जाइटी, डिप्रेसन र साइकोसिस जस्ता मानसिक रोग निम्त्याउँछ । वृद्धावस्थामा तनाव कम गर्न कतिपयमा रक्सी सेवन गर्ने लत समेत बसेको देखिने डा. अधिकारी बताउँछन् ।

के गर्न सकिन्छ ?

वृद्ध उमेरमा एक्लै बस्दा विभिन्न मानसिक समस्या आउने हुन्छ । यस्तो अवस्थामा छोराछोरीले बेलाबेलामा भेट्न जानुपर्छ । यो सम्भव नभए फोन वा भिडियो कलमा कुराकानी गरिरहनुपर्ने मनोचिकित्सक डा. अधिकारी सुझाउँछन् ।

‘बच्चा सानो हुँदा आमाबुबाले कति धेरै हेरचाह गरेर हुर्काएका हुन्छन् । बुढो भएपछि मलाई पनि सन्तानले यसरी नै हेरचाह गरोस् भन्ने आश उनीहरूमा हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले सँगै बसेर हेरचाह गर्न सकिंदैन भने पनि उनीहरूलाई भिडियो कल गरेर सञ्चो बिसञ्चो सोध्ने, आवश्यकता के छ सोध्ने, उनीहरूलाई आफ्नो कुरा सुनाउने, उनीहरूको कुरा सुन्ने गर्नुपर्छ । यसले एक्लोपनका कारण वृद्धवृद्धामा देखिने मानसिक समस्या कम गर्न सहयोग गर्छ ।’