नेपाली काँग्रेसको १४औँ महाधिवेशन;सभापतिमा कसैको आएन बहुमत

नेपाली काँग्रेसको १४औँ महाधिवेशन;सभापतिमा कसैको आएन बहुमत

दाङ, मंसिर २८। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत भएको मतदानमा सभापति पदका लागि कसैको पनि बहुमत आउन सकेन । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत भने उहाँले पाउन सक्नुभएन । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाउनुभयो । उहाँलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाउनुभयो। अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहनुभएका प्रकाशमान सिंह, चौथो स्थानमा रहनुभएका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहनुभएका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिनुभएको छ ।

अब फेरि सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।

यसैबीच सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा जुटेका छन् । अब पहिलो दोस्रो धेरै मत ल्याउने अहिले सभापतिसमेत रहनुभएका शेरबहादुर दउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दुबैको ध्यान सभापतिको उम्मेदवार रहेका, तर दोस्रो चरणको मतदानबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर हुनेछ । देउवालाई समर्थन गर्न आग्रह गर्न गृहमन्त्री बालकृष्ण खाँण नेता सिंहको निवासमा पुग्नुभएको छ ।

अर्का उम्मेदवार निधिले पनि आफू छलफलमा रहेको बताउनुभयो । अर्का नेता प्रकाशमान सिंहसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उहाँले बताउनुभएको छ ।