नेपालले जित्यो त्रिदेशीय टी-२० श्रृंखला

नेपालले जित्यो त्रिदेशीय टी-२० श्रृंखला

नेपालले टी-२० त्रिदेशीय क्रिकेट शृंखला जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले पहिलो पटक टी-२० त्रिदेशीय शृंखला जितेको हो ।

नेपालले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रनको योगफल तयार पारेको थियो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङतर्फ नटआउट ५४ रन बनाएका दीपेन्द्रले बलिङमा पनि चार विकेट लिए । दिपेन्द्र सोमबारको खेलको म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज भए । यस्तै, करण केसीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।

पपुवा न्युगनीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । अन्य ब्याटरले उनलाई साथ नदिएपछि नेपालले सहजै उपाधि जितेको हो ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९ रनको योगदान दिँदा कुशल भुर्तेलले २५ रन बनाए । आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । आदिल अन्सारीले १५ रन बनाए भने विस्फोटक ब्याटिङ गरेका करण केसीले १२ बलमा ३३ रन बनाए ।